प्रचण्डसँग दूरी बढेपछि नेता नेपाललाई फकाउँदै ओलीले भने ‘पूर्वएमाले मिलेर प्रचण्डलाई देखाइदिऊँ’

मन्त्रिपरिषद् पुर्नगठन, पछिल्ला नियुक्ति र कर्णाली विवादलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्धमा दरार आएको छ । मंगलबारको भेटवार्तालाई दुबै अध्यक्षका सचिवालयले आ–आफ्नै तरिकाले व्याख्या गरेपछि दुई नेताबीचको विवाद सतहमा आएको छ । प्रचण्डसँग विवाद र दूरी बढ्दै जाँदा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध बढाउने प्रयास गरेका छन् ।

मंगलबार साँझ ओली र नेपालबीच अढाई घण्टा लामो छलफल भएको बालुवाटार स्रोतले बतायो । प्रचण्डसँग मनमुटाव बढ्दै जाँदा ओलीले नेता नेपालसँग लामो छलफल गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । छलफलका लागि बालुवाटार पुगेका नेपाललाई ओलीले नयाँ समीकरणको प्रस्ताव गरेको बताइन्छ । पूर्व एमालेहरू मिलेर प्रचण्डलाई देखाइदिने प्रस्ताव ओलीले नेपाललाई गरेका थिए । पछिल्लो समय प्रचण्ड र नेपाल मिलेर उपाध्यक्ष वामदेव गौतमलाई समेतलाई साथ लिएर आफूविरूद्ध घेराबन्दी गरेको चाल पाएपछि सो समीकरण भत्काउन ओलीले नेपाललाई विभिन्न प्रलोभन देखाएको स्रोतले बतायो ।



कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा ओली र नेपाल समूह एक भएका थिए । तर प्रचण्ड र नेपालबीच वार्ता भएपछि केही आफूनिकट नेतालाई मन्त्री बनाउने शर्तमा नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हटेको थियो । नेपाल समूहको साथ पाएपछि मुख्यमन्त्री शाहीलाई ओलीनिकट केही नेताहरूलाई कारवाही गरेका थिए । ओली र प्रचण्डबीच पनि कर्णाली विवादमा सहमति जुट्न नसक्दा त्यसले नेकपाको केन्द्रमा नै प्रभाव पारिरहेको छ । मंगलबार कर्णाली प्रदेशको विवाद समाधानबारे प्रचण्डसँग कुनै सहमति हुन नसकेपछि लगत्तै ओली आफैँले टेलिफोन गरेर नेपाललाई बालुवाटार बोलाएका थिए ।

नेपाललाई ओलीका अफरै अफर
प्रधानमन्त्री ओलीले छलफलको क्रममा नेता नेपाललाई अफरै अफर गरेको बताइन्छ । उनले महाधिवेशनमा अध्यक्षमा सघाउनेदेखि कर्णाली प्रदेशमा नेपाल समूहलाई मुख्यमन्त्री बनाउनेदेखि केन्द्रीय मन्त्रीमा पनि धेरै स्थान दिन तयार रहेको बताएका थिए । अहिलेसम्मका अविश्वास हट्ने गरी सँगै मिलेर अघि बढ्न नेपाललाई ओलीले आग्रह गरेका थिए । महाधिवेशनलाई लक्षित गरेर पूर्वएमालेबीच कार्यगत एकता नभएमा नेकपा पूर्वमाओवादीमय हुनेबारे ओलीले नेपाललाई सचेत गराएका थिए । पूर्व एमाले एक हुन नसक्दा प्रचण्डले पार्टीमा धेरै खेल्ने अवसर पाएकोले सोच्ने बेला आएको भन्दै ओलीले तत्काल समीकरण बदल्न आग्रह गरेको बताइन्छ ।

नेता नेपालले भने पार्टी र सरकार विधिसम्मत चलाउन नसकेकोले समस्या आउने गरेको जवाफ फर्काएका थिए । कसैलाई देखाउछु भनेर अगाडि बढ्दा पार्टी अगाडि बढ्न नसक्ने भन्दै पूर्व एमाले र पूर्वमाओवादी अब नेकपामा नरहेकोले सबैजना विधानसम्मत चल्नुपर्नेमा नेता नेपालले जोड दिएका थिए । नेता नेपालले ओलीलाई पटक पटक विभिन्न आश्वासन दिने र आफ्नो स्वार्थ पूरा भएपछि धोका दिने गरेको भन्दै कुनै पनि कुरामा विश्वास गर्न सक्ने वातावरण नै नभएको आरोप लगाएका थिए । ओलीले विभिन्न प्रलोभन देखाएपछि नेता नेपालले दशैंपछि छलफल गरौंला भन्दै बालुवाटारबाट बाहिरिएको स्रोतले बतायो ।

 

सम्बन्धित समाचार