नेपाललाई फकाउने ओलीको प्रयास असफल, प्रचण्ड र नेपालले समूहिक रूपमा ‘रअ’ प्रमुखलाई भेटेपछि तनावमा ओली

भारतीय गुप्तचार संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आउनु अघिल्लो दिन नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीले नेकपा वरिष्ठ नेता माधव नेपाललाई फकाउने प्रयास गरेका थिए । ओलीले नेकपामा आफूलाई शक्तिशाली देखाउनकै लागि नेता नेपालसँग सहकार्यको सम्भावना रहेको देखाउन चाहन्थे । बुधबार दिनभर ओलीले नेपाललाई साथ लिएर अगाडि बढ्न चाहेको खबरले चर्चा पायो तर ओलीसँग नेपालले सहकार्यका हात अगाडि बढाएनन् । प्रचण्डसँग मिलेर रअ प्रमुख गोयलसँग भेटवार्ता गरेर उनले नेकपाको समीकरणमा ओली एक्लै रहेको सन्देश भारतलाई दिएका छन् ।

रअसामु प्रचण्ड र नेपालले सरकार परिवर्तनबारे पनि छलफल गरे कि भन्ने आशंका ओलीमा उब्जिनु स्वाभाविक छ । मन्त्रिपरिषद् पुर्नगठनदेखि पछिल्ला नियुक्तिहरूमा असन्तुष्टि जनाउँदै ओलीविरूद्ध घेराबन्दी गरेका प्रचण्ड र नेपालले गोयलसामु पार्टीको अन्तरिक विवादका बारेमा छलफल गरेर सरकार ढाल्ने अवसरको रूपमा गोयलको भ्रमणलाई उपयोग गरेकोमा बालुवाटार सशंकित भएको छ ।



यता कर्णली विवादमा पनि प्रचण्ड र नेपाल समूह मिलेर ओलीपक्षका नेताहरूलाई पेलेर ओलीविरूद्ध घेराबन्दी शुरू भएको सन्देश दिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशमा अन्तरविरोध चर्केको थियो तर पछि माधव नेपाल समूह अविश्वासको प्रतावबाट पछि हटेर प्रचण्ड समूहसँग मिलेर अगाडि बढेको छ । यो प्रकरणपछि ओली पक्षका प्रमुख सचेतक गुलावजंग शाहले पद गुमाएका छन् । समग्रमा कर्णाली प्रकरणमा ओलीको हार भएको छ भने प्रचण्ड नेपाल समूह थप शक्तिशाली देखिएको छ । प्रचण्ड नेपाल समूह कर्णालीमा जस्तै केन्द्रमा पनि ओलीलाई आफ्नो नियन्त्रणमा राख्ने रणनीति बुनिरहेको स्रोतले बतायो ।

यता रअ प्रमुख गोयलसहित नौजनाको टोली काठमाडौं आएर सत्तारूढ नेकपाभित्रको विवादलाई थप गिजोल्न सफल भएको चर्चा छ । भारतसँग सीमा विवादलाई लिएर सम्बन्ध सुधारको प्रयास गर्न रअको टोली नेपाल आएको चर्चा भए पनि सो टोलीले नेकपाभित्र खेल्ने र ओली सरकार ढाल्ने तयारी गर्ने मौका पाएको बताइन्छ ।

रअ प्रमुखसँग प्रचण्ड र नेपालले सोल्टी होटल आसपासको एक घरमा छुट्टाछुट्टै भेटेका थिए । त्यतिमात्र नभएर उनीहरूले द्वारिका होटलमा पनि सामूहिक रूपमा भेटेपछि उनीहरूको भेटलाई लिएर थुप्रै आशंकाहरू उब्जिएका छन् ।

सम्बन्धित समाचार