नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कात्तिक ।

बुधबार काठमाडौं उत्रिएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले राती बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक घण्टा भेटवार्ता गरेको सार्वजनिक भएको छ । गोयल विहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्किसकेका छन् । विमानस्थलस्थित एक जना सुरक्षा अधिकारीले जनाएअनुसार बुधबार करिब पौने १ बजे विशेष विमानबाट काठमाडौं उत्रेको गोयलको टोली २१ घण्टा काठमाडौंमा बिताएर बिहान १० बजेर आठ मिनेटमा दिल्लीका लागि उडेको हो।
हिजो काठमाडौं उत्रेलगत्तै राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता थालेका गोयलले राती बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको उच्च सुरक्षा स्रोतहरूले जनाएका छन्। तर प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूले यसबारे केही थाहा नभएको बताएका छन्।
नेपाल सरकारसँग कुटनीतिक स्वीकृति लिएर काठमाडौं आएका गोयलले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग होटल द्वारिकामा भेटेको स्रोतहरूले जनाएका छन्। त्यसअघि गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्। तर अध्यक्ष प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ।
