नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४ सय ७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल संक्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५ सय २ जनाको मृत्यु भएको छ । तीमध्ये ४ सय ८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोना भाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।
त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८ सय ५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।
भारतमा केही हप्ता अगाडिसम्म कोरोना भाइरसबाट संक्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।