दशैं मनाउन घर आएकालाई कोरोना पुष्टि भएपछि बागलुङको धम्जा गाउँ पाँच दिनका लागि सिल

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दशैं मनाउन घर आएका एक युवामा दशैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ । ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए ।



बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए । अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

 

सम्बन्धित समाचार