नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् ।
देशभर गत २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।
