प्रचण्डसँग बोलचालै बन्द भएपछि नेपाललाई फकाउँदै ओली, यसरी हुँदैछ ओलीलाई नत्थी लगाउने तयारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको भूमरीमा फसेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको तिक्तता यति बढेको छ कि उनीहरूबीच बडादशैंको शुभकामनासमेत आदन प्रदान हुन पाएको छैन । गत कात्तिक ४ गतेयता प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा पाहिलासमेत टेकेका छैनन् । खुमलटार स्रोतका अनुसार ओली प्रचण्डबीच पछिल्लो समय फोनवार्ता समेत हुन सकेको छैन ।

दुई अध्यक्षबीच विवाद बढ्दै जाँदा कात्तिक १५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक एक महिनापछाडि धकेलिएको छ । केन्द्रीय कमिटी बैठक सार्नेबारे समेत दुई अध्यक्षबीच कुराकानीको वातावरण बन्न नसकेपछि महासचिव विष्णु पौडेल बालुवाटार र खुमलटार धाएर नयाँ महाधिवेशनको मिति तय गरेका थिए । पौडेलले दुई अध्यक्षबीच वार्ताको वातावरण बनाउन पटक पटक गरेको प्रयास असफल भएको बताइन्छ । मन्त्रिमण्डल पुनर्गठनदेखि कर्णाली विवादसम्म आउँदा दुई अध्यक्षबीचको विवादले ठूलो रूप लिने देखिएको छ ।



नेपाललाई फकाउने ओलीको तेस्रो प्रयास
प्रचण्डसँग दुरी बढ्दै जाँदा वार्ताको वातावरण बन्न नसकेपछि ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउने तेस्रो प्रयास गरेका छन् । ओली र नेपालबीच मंगलबार बालुवाटारमा झण्डै ३ घण्टा वार्ता भएको थियो । नेपाललाई ओलीले उही पुरानो विषय पूर्व एमाले नमिलेमा नेकपामा प्रचण्ड हाबी हुने भन्दै सहकार्यको हात फैलाएको बालुवाटार स्रोतले बतायो । भेटमा ओलीले नेपाललाई सरकारमा सहभागी मन्त्री र महाधिवेशन लक्षित विभिन्न प्रलोभन देखाएको बताइन्छ ।

नेता नेपालले भने ओलीलाई मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै कार्यशैली नसच्याएसम्म सहकार्यको कुनै सम्भावना नभएको बताएका थिए । पटकपटक विधिसम्मत सरकार र पार्टी सञ्चालन गर्छु भनेर पार्टी कमिटीमा कमिटमेन्ट गरेर पनि व्यवहारमा एकलकाँटे व्यवहार देखाएको भन्दै यो प्रविृत्तिले पार्टी अगाडि बढ्न नसक्ने बताएका थिए । पूर्वएमाले एक हुनुपर्ने ओलीको भनाइमा नेता नेपालले नेकपामा अब कोही एमाले र कोही माओवादी नरहेको बताएका थिए ।

प्रचण्ड नेपालको यस्तो छ तयारी
मन्त्रिमण्डल पुनर्गठन र सरकार सञ्चालनमा एकलौटी निर्णय गर्न थालेपछि प्रधानमन्त्री ओली पछिल्लो समय पार्टीका सबै कमिटीमा अल्पमतमा परेका छन् । उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको साथ छोडिसकेका छन् । राष्टियसभामा जाने बाटोमा ओलीले विभिन्न व्यवधान खडा गरेको भन्दै गौतम पछिल्लो समय ओलीसँग रूष्ट छन् । उनी रूष्टमात्र होइन, प्रचण्ड नेपाल समूहलाई उचालेर ओलीलाई सबक सिकाउनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड नेपाल समूहले पनि ओलीलाई नत्थी लगाएर मात्र सरकार सञ्चालनको जिम्मेवारीमा राख्नुपर्नेमा एक भएका छन् । पार्टी कमिटीमा अल्पमतमा रहेकाले स्थायी कमिटीबाट सरकार सञ्चालनमा सहयोग गर्ने एक कमिटी बनाउने र सोही कमिटीको सल्लाहमा सरकार सञ्चालन गर्न ओलीलाई बाध्य बनाउने उनीहरूको तयारी रहेको छ । यदि ओली सो कमिटी बनाउन तयार नभए सरकारबाट फिर्ता बोलाउनेसम्मको तयारी प्रचण्ड नेपाल समूहको रहेको छ ।

साथै प्रचण्ड नेपाल समूहले तिहार अगाडि नै मन्त्रीमण्डल पुनर्गठनमा पनि हस्तक्षेप गर्ने तयारी गरेका छन् । हाल कायम रहेका अधिकांश मन्त्रीहरूलाई हटाएर पार्टी कमिटीले नै नयाँ मन्त्री छान्ने र उनीहरूलाई नै नियुक्ति गर्न ओलीलाई दवाव दिने उनीहरूको तयारी रहेको छ । प्रदेश सरकारमा पनि ओलीविरूद्ध हस्तक्षेप गर्ने नेपाल प्रचण्ड समूहले रणनीति बुनिरहेको स्रोतले बतायो ।

सम्बन्धित समाचार