बारामा प्रहरी र स्थानीयबीच झडप, एक बालकसहित तीन प्रहरी घाइते

बाराको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय बाराले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जनाएको छ । स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए ।



भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार प्रहरी टोलीमाथि सिधै आक्रमण गरी गाडी तोडफोड गरेका छन । मोटरसाइकल पनि तोडफोड गरे,’ ‘सईसहित तीन जना प्रहरी पनि घाइते भएपछि अन्तिम अवस्थामा हवाई फायर गर्नुपर्यो । प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचार