नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड संक्रमण थप बढ्न सक्ने आँकलन गरेको छ। दशैंपछि उपत्यका प्रवेश गर्नेहरूको संख्या बढेसँगै संक्रमितको संख्या पनि थप बढ्न सक्ने मन्त्रालयलको आँकलन छ।
संक्रमितको संख्या बढे उपचारका लागि हाई डिपेडेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्यविद्हरुले भने उपचारको तयारीसँगसँगै समुदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने सुझाव दिएका छन्।
काठमाडौं उपत्यका आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ। सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ। यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको दाबी गरे। हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनको भनाइ छ। ‘संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व नागरिककै भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन। यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तीमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको छ,’ प्रवक्ता गौतमले भने।
जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए। गाउँभन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने उनको भनाइ छ।
