नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका छन्। कोरोना संक्रमणले अवरुद्ध बैठक ठीक एक महिनापछि पुनः बोलाइएको हो। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको बैठक डाकेका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा समेत बैठकमा छलफल हुने सहमहान्त्री डा प्रकाशशरण महतले जानकारी दिए। पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको छैन।
केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको भनाइ छ। असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो। असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन। त्यसैदिन ६ केन्द्रीय सदस्यलाई कोरोनाको पुष्टि भएपछि असोज १९ को बैठक रोकिएको थियो।शीर्ष तहका नेताको बैठक पनि अवरुद्ध भएको थियो।
कार्तिक २१ गते बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरि समाधान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्। पौडेल पक्षले केन्द्रीय समितिको बैठकअघि आफ्ना माग सम्वोधन हुनुपर्ने अडान लिएको छ।
सभापति देउवाले बढाएका विभागप्रति पौडेल पक्षको तीव्र असन्तुष्टि छ। पौडेल पक्षले असन्तुष्टि जनाए पनि देउवाले २० विभागका प्रमुख तथा सदस्य तोकिसकेका छन्। विधानविपरीत संख्या बढाइएको पौडेल पक्षको भनाइ छ।
