चितवनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए ।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६:५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए ।



यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए ।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११:४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

सम्बन्धित समाचार