नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कात्तिक ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भए पनि विवाद समाधानको लागि कुनै ठोस परिणाम निस्कन सकेको छैन । अध्यक्षद्वयबीचको संवादहीनताको अवस्था तोडिएकोले अब वार्तामार्फत् नै पार्टी विवाद समाधान हुनेमा नेकपाको दोस्रो तहका नेताहरू आशावादी देखिएका छन् तर पनि आशा गरिएअनुरूप ओली प्रचण्डबीचको वार्ता भने सौहार्दपूर्ण नरहेको बालुवाटार स्रोतले बतायो ।
छलफलका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर जारी विवादको समाधान खोजिनुपर्ने बताएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव, पर्सामा भएको नेकपाका कार्यकर्ताको हत्या, भारतीय गुप्तचर निकाय (रअ) का प्रमुखको नेपाल भ्रमण र कोरोना भाइरसको महामारीमा सरकारको भूमिकाबारे प्रचण्डले जिज्ञासा राखेका थिए । यी सबै विषयको सचिवालयमा छलफल हुनुपर्ने प्रचण्डले बताएका थिए ।
ओलीले भने बैठक बस्ने विषयमा कुनै आपत्ति नभएको भन्दै तत्काल समयको चाप रहेको बताएका थिए । पछिल्लो अन्तर–संघर्षमा पार्टीका सबै कमिटीमा अल्पमतमा परेका ओलीले बैठकको मिति तोक्त तयार भएका थिएनन् । बैठकहरू टार्ने र अध्यक्षद्वयबाटै समाधान खोज्नुपर्ने आशय ओलीले व्यक्त गरेका थिए । कोरोना महामारी नियन्त्रणमा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने भएकोले पार्टीमा धेरै समय दिन सक्ने अवस्था नरहेको ओलीले बताएका थिए ।
छलफलको क्रममा ओलीले विभिन्न सञ्चार माध्यममा अविश्वासका प्रस्तावको कुरा उठेको बारे पनि जिज्ञासा राखेका थिए । ओलीको जिज्ञासापछि प्रचण्डले ‘ती सबै विषय तपाईको व्यवहारमा भर पर्ने’ भन्दै जवाफ फर्काएका थिए । ‘फेरि पनि जनतामा जानु पर्छ, निर्वाचन जित्नुपर्छ तर तपाईको काम गराईले आगामी निर्वाचनमा जनतामाझ जानै लाजमर्दो अवस्था आउने भयो । तपाई सच्चिनुभएन भने हामीले हस्तक्षेप गर्नुपर्ने अवस्था आउने भयो’ प्रचण्डको भनाई उध्रित गर्दै स्रोतले भन्यो ।
यता ओलीले भने महाधिवेशनको मुखमा आएर पार्टीभित्र अन्तर–सङ्घर्ष चर्किनु दुःखद् रहेको भन्दै दुई अध्यक्ष मिलेर जाँदा मात्र महाधिवेशन सम्पन्न गर्न सकिने बताएका थिए । उनले प्रचण्डलाई गुटबन्दीमा लाग्न भन्दा महाधिवेशनमा केन्द्रित रहन आग्रह गरेका थिए । ओलीले महाभिवेशनमा एकल अध्यक्षको उम्मेद्वार बनाउन सघाउने भन्दै मिलेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । तर प्रचण्डले भने ‘तपाईसँग मिल्नुको अर्थ तपाईले जे मन लाग्छ त्यो गर्ने र मैले सही मात्र थप्नुपर्ने’ नभएको भन्दै दुई अध्यक्षमात्र मिल्ने नभई सचिवालयका साथीहरूको पनि कुरा सुन्नुपर्ने भन्दै सचिवालयमै जोड दिएका थिए ।
गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारी स्वरूप कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरिएको भए पनि जारी विवाद र कोरोनाका कारण बैठक एक महिनापछि मंसिरमा बस्ने भएको छ । नयाँ नयाँ विषयमा विवाद जारी रहेको र त्यही विषयलाई लिएर चर्को धु्रवीकरण भैरहेकोले चैतमा हुने भनिएको नेकपाको महाधिवेशन पनि अन्योल हुन पुगेको छ ।
