नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पार्टीलाई फुट्न र फुटाउन नदिने बताएका छन्। पार्टीभित्र बढ्दै गएको विवादकै बीच नेम्वाङले पार्टी विभाजनको पक्षमा आफू नउभिने प्रतिबद्धता जनाएका छन्।
‘हामीले बाम गठबन्धनबाट तालमेल गरी निर्वाचनमा जाँदा देशमा राजनीतिक स्थिरतागद दिन्छौं। देशमा विकास र सुशासन दिन्छौं भनेर जनता समक्ष प्रतिबद्धता गर्यौं। जनताले झण्डै दुई तिहाई बहुमत दिए। त्यो भनेको अस्ति भर्खरै हो’ नेम्वाङले भने, ‘यदि हामीले पार्टी विभाजन गर्यौं भने जनतालाई के भनेर जवाफ दिने त्यसको जवाफै छैन। त्यसैले पार्टी विभाजन गर्दैनौं। गर्न खोज्नेलाई पनि परास्त गर्नेछौं।’
नेकपाले देशमा राजनीतिक अस्थिरताको अन्त्य गर्ने जनतालाई वचन दिइसकेकाले पार्टी विभाजन नहुने नेम्वाङ्ले दोहोर्याए। पार्टीभित्र देखिएको विवाद संवाद छलफलबाटै निकास निकाल्ने उनले बताए।
