काठमाडौंलाई विश्वले मागी खानेको शहर भनेर चिन्ला भन्ने चिन्ता भयो

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गरेका छन् । खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाडौंमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गरे ।

‘काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाडौं मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भने ।



कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गरे ।देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

सम्बन्धित समाचार