नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।

समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका र मुख्य बजारहरू बन्द गरिएको छ। बेनी नगरपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द गरिएको हो। त्यसैगरी, बेनी बजार र दरवाङ बजारका पसल बिहान ११ बजेदेखि बन्द गरिँदै आइएपनि जिल्ला सदरमुकाम बेनीबजारदेखि ग्रामिण भेगमा संचालन हुने यातायात बन्द नगरिँदा भीड बढेको छ।
म्याग्दीमा एक सातायता कोरोना समुदायस्तरमा नै फैलिएको छ। प्रदेशसभाका सदस्यदेखि लिएर नेकपा र कांग्रेसका जिल्लास्तरीय नेतासम्ममा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले नगरपालिका र उद्योग वाणिज्य संघको अनुरोधमा बजारमा कडाइ गर्न थालेको हो।
जनसम्पर्क गर्ने जनप्रतिनिधि, व्यवसायी र कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजार बन्द गरिएका छन्। बेनी नगरपालिका र बजार १४ कात्तिकदेखि नै बन्द छन् भने मालिका र दरबाङ बजार बुधबारदेखि बन्द भएका हुन्।
मंगला गाउँपालिकाले कर्मचारीमा संक्रमण पुष्टि भएपछि असोज अन्तिम सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो। मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए। दरवाङ बजारका पसलसमेत बन्द गराइएको अध्यक्ष रोकाले बताए।
यसैबीच बुधबार गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ। यहाँ करिब दुई हजारवटा स्वाबको नमुना परीक्षण गरिएको छ।
