नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती मन्त्रीको भनाइ छ । त्यसो त आजकै बैठकबाट प्रधानमन्त्रीले पार्टी फुटाउन सहज हुनेगरि अध्यादेश ल्याउने तयारी गरेको पनि चर्चा छ । तर प्रधानमन्त्री केपी ओलीनिकट एक मन्त्रीले भने त्यस कुरामा सत्यता नभएको बताउँछन् ।
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दिउँसो भेटघाटको तयारी भएको छ । बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएकाले अध्यक्षाद्वयको भेट स्थगित भएको थियो । यसअघि गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो । चार दिनपछि विहीबार उनीहरूबीच भेटवार्ताको तयारी भएको हो ।
नेकपामा विवाद उत्कर्षमा पुगेको बेलामा दुई अध्यक्षबीच ठोस कुराकानीको तयारी भएको बताइन्छ । यसअघिको भेटमा पार्टी अलग गरेर अगाडि बढ्न चुनौति दिएको ओलीले आज भने प्रचण्डलाई फकाउने तयारी गरेको बुझिन्छ । गत सोमबार पनि ओलीले दुई अध्यक्षबीच सहमति जुटाएर सचिवालय बोलाउन तयार रहेको भन्दै बालुवाटारमा आमन्त्रण गरेका थिए । तर प्रचण्डले भने दुई अध्यक्षबीचको वार्ताले जारी विवाद समाधान नहुने भन्दै पार्टी कमिटीमार्फत नै समस्याको हल गर्न दवाव दिंदै आएका थिए ।
