नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ कात्तिक ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।
नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।
यता प्रधानमन्त्री ओली पक्षका नेताहरु भने प्रचण्डले बोलाएको सचिवालय बैठकमा सहभागी नहुने भएका छन् । प्रचण्ड एक्लैलाई सचिवालय बैठक बोलाउने अधिकार नभएको भन्दै उनीहरु सो बैठकमा सहभागि नहुने बताएका हुन् । ओलीसहित इश्वर पोृखरेल र महासचिव विष्णु पौडेल बैठकमा सहभागी नहुने भएका हुन् । सचिवालयमा ओली या प्रचण्ड दुबै समूहमा नखुलेका रामबहादुर थापा आजको बैठकमा उपस्थित हुन्छन् या हुदैनन् भन्ने विषयलाई चासोको रुपमा हेरिएको छ ।
