प्रचण्डलाई ओलीको प्रश्न ‘पार्टी त फुट्यो, औपचारिक घोषणा कहिले गर्ने ?’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेकपा फुटिसकेको जिकिर गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डसँग विहीबारको भेटमा उनले ‘पार्टी त फुटिनै सक्यो, औपचारिक रूपमा घोषणा कहिले गर्ने’ भन्ने प्रश्न गरेका थिए । शुक्रबार आफूनिकट सचिवालय सदस्यहरूसँगको छलफलमा प्रचण्डले ओलीसँगको वार्ताबारे जानकारी दिंदै ओलीले सहमतिमा औपचारिक रूपमा पार्टी फुटेको घोषणा गर्ने प्रस्ताव नै गरेको बताए ।

प्रचण्डले छलफलको सुरुवातमै ‘यो बैठक मैले आफ्नै योजनामा बोलाएको भन्ने सन्देश गएको तर कुरा त्यसो होइन । आजको बैठकमा प्रधानमन्त्री ओलीको पनि समर्थन छ । वहाँले पार्टी फुटेको सन्देश विस्तारै नेता कार्यकर्तालाई दिनुपर्ने भन्दै तपाईहरू आफ्नो ढंगबाट बैठकहरु बस्नुहोस् तर म बैठकको पक्षमा छैन, भन्ने सन्देश दिनुभएकोले मैले आजको बैठक बोलाएको हुँ’ भनेका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीले दोहोर्याएर पार्टी फुटको औपचारिक घोषणा गरौं भनेकोले पार्टी एक हुने सम्भावना सकिएको बताउँदा उपस्थित ४ सचिवालयका नेताहरू निराश भएका थिए ।



प्रचण्डले ओलीसँगको भेटमा भएका कुराहरूको सविस्तार बताएपछि वरिष्ठ नेता माधव नेपालले ओली पार्टी फुटाएर जान्छन् भने जाउन् तर सहमतिमा पार्टी अलग गर्ने भन्ने नहुने बताएका थिए । औपचारिक रूपमा सचिवालय बैठक बसेर बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । ‘ओलीजी बैठक बोलाउन पनि तयार नहुने, पार्टी विधान पनि नमान्ने हो भने स्थायी कमिटी बैठक बोलाएर बहुमतको आधारमा उनलाई सरकारबाट फिर्ता बोलाइहालौं । त्यसपछि उनको गतिविधिको आधारमा एक्शन लिउँला’ छलफलमा नेपालको प्रस्ताव थियो ।
नेपालको भनाइमा अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि समर्थन जनाएका थिए । ओलीलाई पार्टीभित्र थप खेल्ने मौका दिनुनहुने भन्दै तत्काल एक्शन लिन खनालले प्रचण्डलाई आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले बैठक पनि बोलाउँदिन, पार्टी निर्णय पनि मान्दिन भन्नुभएको रहेछ, त्यसो हो भने हामी पनि वहाँको नेतृत्व किन स्वीकार्ने ?’ छलफलमा खनालले भनेका थिए ।

छलफलमा सहभागी नेकपा उपाध्यक्ष वामदेव गौतमले भने ‘सामूहिक रूपमा ओलीसँग निर्णयक छलफल गर्नुपर्ने बताएका थिए । अल्पमतमा रहेका ओलीले केही नाप्न सक्दैनन् । एकपटक उनीसँग सिरियस गफ गरौं फेरि पनि बटारिएका कुरा गरे भने तिनलाई कसरी ठेगान लगाउने हो हामीलाई पनि थाहा छ’ छलफलमा गौतमले भने । गौतमको भनाईमा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले समर्थन जनाएका थिए । ‘सचिवालय बैठक बोलाउन ओलीले नमानेमा सबै सचिवालय सदस्य ओलीजीसँग सामूहिक छलफल गर्न जाउँ न, अनौपचारिक सचिवालय बैठक जस्तो पनि हुन्छ, संवादको वातावरण पनि बन्छ’ श्रेष्ठको भनाई थियो ।

छलफलको अन्तिममा ओलीसँग सामूहिक भेट गर्ने र पार्टी कमिटी बैठक बोलाउन र पार्टीको विधिको पालना गर्न दवाव दिने निष्कर्ष निस्किएको थियो । ओलीले सामूहिक छलफलमा पनि सहमतिमा आउन तयार नभएमा स्थायी कमिटी बोलाएर सरकारबाट फिर्ता बोलाउने रणनीति बैठकले तय गरेको स्रोतले बतायो । पार्टी कमिटीको निर्णय पनि नमानेमा संसदीय दलको निर्वाचन गरेर प्रधानमन्त्रीको अर्को उम्मेद्वारको खोजी गर्नेसममको रणनीति ओलीइतर समूहले तय गरेको बताइन्छ ।

सम्बन्धित समाचार