नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।

पार्टीभित्रको विवाद मिलाउन जारी कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक शनिबार पनि निष्कर्षविहीन भएको छ । बैठक आइतबार पुनः बस्ने गरी सकिएको छ । केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने भन्दै दबाब परेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक स्थगित गरेर विवादित मुद्दाहरूमा सहमतिको वातावरण बनाउन कसरत गरिरहेका छन् ।
आजको बैठक नेताहरू आ–आफ्नै अडान कायम रहेका छन् । शनिबारको बैठकमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले धारणा राखेका छन् । बैठकमा संस्थापन पक्षले सहमतिका केही प्रस्ताव ल्याए पनि सहमति नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतमा संस्थापन पक्षले विधान मिचेर कार्य गरेकोलगायत विषयमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता पौडेल समूहका २७ केन्द्रीय सदस्यले १६ बुँदे माग राख्दै ११ असोजमा पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ती मागबारे केन्द्रीय समिति अगावै सहमति खोज्नुपर्ने पौडेल समूहको माग छ । केन्द्रीय कार्यसमितिको बैठक आगामी सोमबार बस्दै छ ।
