नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका ओली समूहको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।
पोखरेलले भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न आग्रह गरेका थिए । ‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो’, उनले भने ।
पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने उपस्थित थिएनन् । केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।
