नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

लमजुङका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान ४ बजे मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी मेडिकल कलेजमा भर्ना भएका थिए । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनीलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको उनले बताए ।
यससँगै लमजुङमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । हालसम्म लमजुङमा कुल ५७५ जनामा संक्रमण पुष्टि भएको छ भने ५१७ जनाले कोरोनालाई जितिसकेका छन् ।
