पूर्वमाओवादी पक्ष उपस्थित नभएपछि बालुवाटार पुगेका कार्यदल सदस्यलाई भेटेनन् ओलीले

नेकपाको विवाद समाधान कार्यदलका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेनन् । सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको थियो । तर कार्यदलमा रहेका पूर्वमाओवादी तर्फका जनार्दन शर्मा र पम्फा भुषाल उपस्थित नभएपछि वाँकी सदस्यहरुलाई प्रधानमन्त्री ओलीले नभेटेका हुन् ।

सोमबार मध्यान्ह कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाइएको थियो । कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका दुई सदस्य भीम रावल र सुरेन्द्र पाण्डे उपस्थित भएपनि माओेवादी पक्षका नेताहरु अनुपस्थित भएपछि नेताहरू छलफल नै नगरी फर्किएका हुन् ।



पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सोही कार्यदलको प्रतिवेदन स्थायी कमिटीले पारित गरेपछि तत्कालिन नेकपाको विवाद समाधान भएको थियो ।

सम्बन्धित समाचार