नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढीरहेका बेला केन्द्रीय सचिवालय बैठक आह्वान गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले आजसम्मको अल्टिमेटम दिएको थियो । ओलीले भोलि मंगलबार पनि सचिवालय बैठक नबोलाएमा कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्ड आफैले सचिवालय बैठक बोलाउने भएका छन् ।
आज ओलीको सन्देश लिएर प्रचण्डसँग भेट गर्न पुगेका महासचिव विष्णु पौडेललाई पनि प्रचण्डले प्रष्टसँग मंगलबारसम्म ओलीले सचिवालय बैठक नबोलाए आफैंले औपचारिक रुपमा बैठक बोलाउने बताएका थिए । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी दिएपनि यस्तो कुरा आफूलाई नसिकाउन र ओलीलाई बैठकबाट नभाग्न सुझाव दिन आग्रह गरेका थिए ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए ।
प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको बताएका थिए। भोलि सचिवालय बैठक बस्ने र उक्त बैठकले स्थायी समिति बैठक डाक्ने प्रचण्डको भनाई छ । स्थायी कमिटीमार्फत ओलीलाई सरकारबाट फिर्ता बोलाउने र आवश्यक परेमा संसदीय दलको निर्वाचन घोषणा गरेर ओलीलाई अल्पमतमा पर्ने प्रचण्ड नेपाल समूहको तयारी रहेको छ ।
