नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।

यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, एकान्तकुना, ललितपुरमा कर तिर्न टोकन बाँड्ने क्रममा टोकन सकिएको निहुँमा एकजना सेवाग्राहीले आवेशमा आई टोकन वितरक कर्मचारी सुनील श्रेष्ठमाथि हातपात गरेका छन् भने कर्मचारी श्रेष्ठको टाउको झ्यालको शिशामा ठोक्किएर आँखाको डिलमा गम्भीर चोट लागेको छ ।
नेपाल सरकारले सवारीमा जोर बिजोर प्रणाली लागु गरेपछि दैनिक २०० वटा गाडीको टोकन बाँड्ने गरिएकोमा आज जोर नम्बरका सवारीको टोकन बाँड्ने दिन थियो । कोरोनाका कारण कात्तिमसान्तसम्म जरिवाना छुट भएको तथा उपत्यकाका अन्यत्रका यातायात कार्यालयहरू बन्द भएकोले एकान्तकुनामा एक्कासी सेवाग्राहीको भीड बढेपछि २०० भन्दा माथिका सेवाग्राहीले टोकन नपाएको झोँकमा एक सेवाग्राहीले आवेशमा आई टोकन वितरक श्रेष्ठमाथि हातपात गरेको एक प्रत्यक्षदर्शीले सुनाए ।
सर्वर डाउन भएका कारण लाइसेन्स नवीकरणको काम पनि प्रभावित भएकोले लाइसेन्स नवीकरण शाखातर्फ पनि सेवाग्राहीहरूले होहल्ला र हुटिङ गरिरहेको जनाइएको छ ।
यस कार्यालयमा दशैंअघि दैनिक एक डेढ करोड राजश्व संकलन हुने गरेकोमा हाल दैनिक ३–४ करोड राजश्व संकलन हुने गरेको जनाइएको छ ।

