नेकपा सचिवालय बैठक आज, यस्तो छ दुबै पक्षको तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक बोलाउने या नबोलाउने भन्ने झण्डै एक महिनादेखिको रस्साकस्सी पछि दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् । नेकपाको विधानमा दुई अध्यक्षको समन्वयमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । तर दुई अध्यक्षबीच तत्कालै बैठक राख्ने विषयमा विवाद भएपछि अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले बैठकका लागि सहमति जनाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीलाई पत्र बुझाएका थिए।

ओलीले आनाकानी गर्दै आएपछि प्रचण्डले हिजै बहुमत सदस्यको बैठक राख्ने तयारी समेत गरेका थिए। सहमतिमै बैठक बस्ने भएपछि प्रचण्डले बोलाएको बैठक रोकिएको थियो। आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीभित्रको आन्तरिक विवाद र सरकारका काम कारवाहीमा केन्द्रित हुने बताइएको छ। बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न दुवै अध्यक्षले आफू निकट सचिवालय सदस्यसँग आन्तरिक परामर्श जारी राखेका छन्।



आज बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न हिजो साँझ अध्यक्ष प्रचण्डसहित ओलीइतरका नेकपा सचिवालयका ५ जना सदस्यले छलफल गरेका थिए । प्रचण्ड निवास खुमलटारमा प्रचण्डका अलावा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको हो ।

बिहीवारको भेटमा ५ नेताले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने विषयमा छलफल भएको स्रोतको दाबी छ । पार्टी स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासिन देखिएको, मन्त्रिपरिषद् हेरफेर तथा राजदूत नियुक्ति लगायतमा कुनै परामर्श नगरेको भन्दै प्रचण्ड–नेपाललगायतका नेताहरू असन्तुष्ट छन् । उनीहरू जारी विवादको समाधान स्थायी कमिटीबाटै हुनुपर्ने अडानमा छन् । सचिवालय बैठकबाट स्थायी कमिटी बैठकको आव्हान गर्ने र स्थायी कमिटीमार्फत् ओलीलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको रणनीति प्रचण्ड–नेपाल समूहले बनाएको बताइन्छ ।

पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम ओलीक्याम्पमा प्रवेश गर्ने विषय चर्चामा आएपछि खुमलटारमा उनको विषयमा पनि छलफल भएको बताइन्छ तर गौतमले प्रचण्डलाई ‘आफू कुनै पनि प्रलोभनमा नपर्ने र ओली सरकार ५ वर्ष कायमै रहे पनि आफू ओलीसरकारमा सहभागी नहुने’ बताएका थिए । सचिवालयका ५ जना सदस्य नै ओलीविरुद्ध एक भएकोले जारी विवादमा ओली थप अप्ठ्यारोमा पर्ने देखिएका छन् । छलफलको क्रममा नेता गौतमले ओलीविरुद्ध खुट्टा नकमाई लाग्न प्रचण्डसँग आग्रह गरेका थिए । सहभागी अन्य नेताहरूले पनि पटक पटक आफूहरू लचिलो बनेको र पछिल्लो विवादमा ओलीलाई लचिलो हुन बाध्य बनाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

साथै छलफलमा ओलीलाई बहुमतको आधारमा निर्णय गरेर पेल्दै जाँदा उनले चाल्नसक्ने कदमका बारेमा पनि छलफल भएको स्रोत बताउँछ । प्रधानमन्त्री पद जोगाउन ओलीसामु संसदीय दलमा बहुमत सिद्ध गर्नुको विकल्प नभएको निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ ।

यता ओली पक्ष भने बहुमतको बलमा पेलेर अगाडि बढ्न खोजिए पार्टी फुट्ने चेतावनी दिंदै आएको छ । सचिवालय बैठकले सहमतिमा जोड दिनुपर्ने उनीहरुको तर्क रहेको छ ।

सम्बन्धित समाचार