नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कात्तिक ।

नेकपा विवादबाट मुक्ति पाउन प्रधानमन्त्री केपी ओलीले पूर्वएमालेलाई एक बनाउने प्रयास जारी राखेका छन् । पछिल्लो शक्तिसंघर्षमा पार्टीका सबै कमिटीमा अल्पमतमा परेपछि ओलीले पूर्वएमालेका नाममा प्रचण्डलाई एक्ल्याउने रणनीति लिएका छन् । पछिल्लो समय उपाध्यक्ष वामदेव गौतमलाई रक्षासहित उपप्रधानमन्त्री बनाउने भन्दै फकाएका उनले गौतमले रक्षामा आँखा नलगाएपछि अर्थ मन्त्रालयसमेत दिन सकिने भन्दै छलफल अगाडि बढाएको स्रोत बताउँछ ।
आज पनि नेकपा सचिवालयको औपचारिक बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र गौतमसँग छुट्टै वार्ता गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ औपचारिक बैठकबाट बाहिरिएलगत्तै ओलीले बाँकी नेताहरूसँग छलफल गरेका हुन् । ओलीले केहीबेर कुराकानी रहेको बताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम बालुवाटारमै एकछिन टहलिएका थिए । पूर्वमाओवादी पक्षधरका सबै नेता बाहिरिएपछि ओलीसँग नेपाल र गौतमको छलफल भएको थियो ।
आजको भेटमा पनि ओलीले नेता नेपाललाई पार्टी अध्यक्षको जिम्मेवारी संभाल्न र गौतमलाई सरकार सञ्चालनमा सघाउन आग्रह गरेका थिए । साथै ओलीले पूर्वएमालेहरू एक हुन नसके पछि पछुताउने दिन आउनेतर्फ सजग गराएका थिए । नेता नेपाल र गौतमले भने विश्वासको वातावरण नरहेको भन्दै आगामी सचिवालय अगाडि विस्तृतमा छलफल गर्ने सहमतिका साथ नेपाल र गौतम बाहिरिएको बालुवाटार स्रोतले बतायो ।
गौतमलाई एकल रूपमा फकाएर सचिवालयमा बहुमत हासिल गर्न प्रयास गरेका ओली त्यसमा सफल नभएपछि आज नेता नेपालसँगै राखेर गौतमसहित पूर्व एमाले नेताहरूलाई एक बनाउने प्रयास गरेका हुन् । महाधिवेशन नजिकिएकोले पनि ‘नेकपालाई माओवादीमय हुनबाट बचाउने दायित्व तपाईहरूको काँधमा आएको छ’ भन्दै ओलीले फकाउने प्रयास गरेका थिए । साथै ओलीले अहिले परिस्थितिमा आफूलाई चिढ्याएर प्रचण्डको पछि लागेर कुनै फाइदा नहुने भन्दै पार्टी फुटेमा आफूलाई भन्दा तपाईहरूलाई नै घाटा हुने हो भन्दै सम्झाउने प्रयास गरेका थिए ।
के भयो आजको सचिवालयमा ?
आजको सचिवालय बैठकले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यसूची नै बनाएर विवाद समाधान गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पाँच नेताले सचिवालय बैठक बोलाउन गरेको आग्रह, जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखेको पत्र, प्रधानमन्त्रीको पत्रको जवाफमा दाहालले लेखेको पत्र र दाहालले पार्टी विवाद समाधानका लागि तयार गरेको प्रस्ताव र स्थायी कमिटीपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । ‘सामग्रीको अध्ययन गरेपछि समग्रतामा छलफल हुन्छ,’ उनले भने ।
