प्रचण्डले सचिवालयमा भ्रमको पुलिन्दा बाँडे, त्यसमा छलफल हुनैसक्दैन: सूर्य थापा

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ‌‌ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनैतिक दस्तावेज नभई भ्रमको पुलिन्दा भएको टिप्पणी गरेका छन् । उनले शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो प्रस्ताव अराजनैतिक भएको एवम् अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।

उनले यस्तो पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताएका छन् । उनले लेखेका छन्, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।’



उनले पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताएका छन् । उनले लेखेका छन्,’यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

सम्बन्धित समाचार