नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न भनेका छन्।
कोरोना संक्रमण भएर उपचार गराइरहेका डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत् सार्वजनिक गरेका थिए। डा. केसीले त्यसप्रति विज्ञप्तिमार्फत् प्रतिक्रिया जनाएका हुन्।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
