न गले गौतम, न गले नेपाल, प्रचण्डको दस्तावेजले अप्ठ्यारोमा ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पूर्व एमालेलाई एक बनाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीबाट खेद्ने सपना चकनाचुर भएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले घुमाउरो शैलीमा आफ्नो राजीनामा मागिएको बुझेका ओलीले सो प्रतिवेदनको चर्को आलोचना गर्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका थिए । ओलीनिकट दोस्रो तहका नेताहरूले प्रचण्डको राजनीतिक प्रतिवेदनको चर्को आलोचना गर्दै पदको लागि प्रचण्डले मरिहत्ते गरेको आरोप लगाए । ओलीले पनि सो प्रतिवेदन फिर्त नभएसम्म सचिवालय बैठक बस्न नसक्ने धम्की दिइरहेका छन् ।

तर ओली खेमाले प्रचण्डलाई विभिन्न आरोप लगाइरहँदा पूर्व एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहले भने प्रचण्डको प्रतिरक्षा गरिरहेका छन् । नेपालसहित वरिष्ठ नेता खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डले पेश गरेको प्रतिवेदन आफूहरूको सामूहिक भएको भन्दै फिर्त नहुने बताइरहेका छन् । दोस्रो तहका नेताहरूले पनि प्रचण्डले सहयोग नगरेकोभए ओली प्रधानमन्त्री र राष्ट्रपतिमा विद्या भण्डारीले अवसर नै पाउने थिएनन् भन्दै प्रचण्डको समर्थनमा आवाजहरू बुलन्द भैरहेका छन् । ५ वर्ष प्रधानमन्त्री चलाउने अवसर त्यागेर प्रचण्ड पार्टी एकता गर्न आएको कुरा भुल्नु हुँदैन भन्दै पुर्व एमालेकै नेताहरू प्रचण्डको रक्षामा देखिएका छन् ।



यता नेता नेपाल र गौतमले पनि ओलीले दिएका ठूला ठूला अवसर त्यागेर प्रचण्डकै समर्थनमा दह्रोसँग उभिएकोले जारी सचिवालयले नेकपाको विवादलाई वार कि पार गराउने अपेक्षा गरिएको छ । जारी विवादको समाधान सरकार परिवर्तन या नेकपाको फूटमध्ये एक हुने विश्लेषण गरिएको छ । ओलीले पटक पटक सरकार र पार्टीलाई विधिसम्मत हिँडाउछु भने पनि व्यवहारमा त्यस्तो नदेखिएपछि उनीइतरका शक्तिहरू जुनसुकै मूल्य चुकाएर भए पनि ओलीसँग बदला लिने तरखरमा छन् ।

प्रचण्ड नेपाल समूहले सचिवालयमा बहुमतको आडमा स्थायी कमिटीको आव्हान् गर्ने र स्थायी कमिटीमार्फत ओलीलाई सरकारकारबाट फिर्ता बोलाउने र त्यसमा आनाकानी गरेमा संसदीय दलको नेता परिवर्तन गरेर ओलीलाई सरकारबाट फिर्ता हुन बाध्य बनाउने रणनीति लिएका छन् ।

ओलीका रणनीतिः सचिवालय टार्नेदेखि पार्टी फुटाउनेसम्म
प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले नेपाल र गौतमसँग २÷२ पटक वार्ता गरे । उनीहरूसँगको वार्तामा ओलीले प्रचण्डसँग सँगै हिड्न नसकिने भन्दै पूर्वएमाले बिउताउने बताएका थिए । आफ्नो सो कदममा साथ दिन र कुन कुन पद लिने हो लिन आग्रह गरेका थिए । तर नेपाल र गौतम दुबैजनाले प्रचण्डको साथ छोड्न भन्दा आफ्नो व्यवहार सुधार्नपट्टि लाग्न आग्रह गरेका थिए । ओलीको प्रलोभनमा नपरी उनीहरूले कुनै पनि हालतमा पार्टी फुटाउने कदममा साथ नदिने बताएका थिए ।

नेपाल र गौतमलाई फकाउन नसकेपछि ओलीले राजनीतिक प्रतिवेदन सचिवालयबाट फिर्ता नहुँदासम्म सचिवालय बैठक बस्न नदिने रणनीति तय गरेका छन् । प्रचण्ड नेपाल समूहले एकतर्फी रूपमा पेलेर अगाडि बढ्न खोजेमा पार्टी फुटाउनसम्मको रणनीति ओलीको छ । जुनसुकै बेला पार्टी फुटाउन सहज हुने गरी अध्यादेशको प्रस्ताव आउन सक्ने जानकारी उनले राष्ट्रपतिसमक्ष पनि जानकारी गराएको स्रोत बताउछ ।

 

सम्बन्धित समाचार