नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।
भारतीय राज्य बिहारको मुख्यमन्त्रीमा नीतिश कुमारले सपथ लिएका छन् । हालै सम्पन्न निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमारलाई गठबन्धनको नेता चयन गरेसँगै उनी बिहारको मुख्यमन्त्री बनेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले सोमबार बिहारको पटनास्थित राज्यपाल भवनमा सातौं पटक मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । उनलाई राज्यपाल फागु चौहानले शपथ गराएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नीतीशकुमारसँगै भाजपाबाट तारकेश्वर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहभागी रहेको थियो । यद्दपि, विपक्षी महागठबन्धनले भने समारोह बहिस्कार गरेको जनाइएको छ । कुल २ सय ४३ सिट रहेको बिहार विधानसभामा सत्तारुढ एनडीए गठबन्धनले १ सय २५ सिट र विपक्षी महागठबन्धनले १ सय १० सिटमा जितेका थिए ।