नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिलाई भेटन प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी दियो ।
नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहि दिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेकी थिइन् । ‘राष्ट्रपतिज्यूको निमन्त्रणामा अध्यक्षज्यू शितलनिवास जानुभएको हो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो ।
भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओली पक्षले केही दिन सार्नुपर्ने प्रस्ताव गरेको छ । अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरुले जसरी भए पनि बैठक बस्नुपर्ने अडान राख्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।
भेटमा रष्ट्रपतिले प्रचण्डलाई सहमतिको वातावरण बनाएर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेको स्रोतले बतायो । जवाफमा प्रचण्डले आफू सहमतिकै पक्षधर भएपनि अर्का अध्यक्षका कारण पटक पटक पार्टी एकता धरापमा परेको भन्दै ओलीबाट पार्टी फुटलाई सघाउ हुने गतिविधिलाई साथ नदिन आग्रह गरेका थिए ।
