कोरोना संक्रमित नेकपा नेता भुसालको मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५:१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।



मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार