नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

आज बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली समूह सहभागी हुने या नहुने निश्चित छैन । तर यसअघि पछिल्लो विवादमा ओली समूहलाई साथ दिंदै आएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल आजको बैठकमा उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित हुने भएका हुन् । ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र उपप्रधनमन्त्री ईश्वर पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबार बैठक नहुने अडान लिएका छन्।
उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् । ओली समूहबाट बैठक सार्न प्रस्ताव आएपनि प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित वामदेव गौतम र नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा बैठक नसर्ने बताएका छन् ।
जारी विवादले पार्टी नै फुट्ने अवस्था आएपछि बादलले क्याम्प परिवर्तन गरेको बताइन्छ । यसअघि पनि बादलले पार्टी एक रहँदासम्म ओलीलाई साथ दिने र पार्टी नै फुट्ने अवस्था आएमा प्रचण्डको साथ रहने बताउँदै आएका थिए । बादलको क्याम्प परिवर्तनसँगै प्रधानमन्त्री ओलीको पक्षमा सचिवालयमा केवल दुई सदस्य मात्र रहेका छन् । यसले ओलीको आगामी राजनीतिक यात्रालाई थप सकसपूर्ण बनाउने देखिएको छ ।
