नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

पार्टी विवाद वार कि पारको अवस्थामा पुगेपछि प्रधानमन्त्री केपी ओली पार्टीले संकट समाधानका विषयमा परामर्श गर्न मंगलबार राति शीतलनिवास पुगे । ओली पुग्नुअघि नै राष्ट्रपति विद्या भण्डारीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरिसकेकी थिइन् ।
पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पुर्याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ। मंगलबार रातिको भेटमा राष्ट्रपतिले प्रचण्डसँगको वार्ताबारे बताउँदै सचिवालय बैठक नरोक्ने प्रचण्डले बताएको सुनाइन् । सचिवालय रोक्न राष्ट्रपतिको प्रयोग गर्दा पनि असफल भएपछि ओलीले अब चाल्ने कदमबारे राष्ट्रपतिसँग परामर्श गरेको स्रोतले बतायो ।
राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।
जारी विवादलाई लिएर पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओली सचिवालय सदस्य रामबहादुर थापाले पनि साथ छोडेपछि थप समस्यामा परेका छन् । सचिवालयमा ओलीको पक्षमा महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेलमात्र देखिएका छन् ।
