नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् । पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।
पार्टीको आन्तरिक समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताएका छन् ।
उनले भने, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’
महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने पनि बताए । हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठीक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले बताए ।
