नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्। शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका हुन्।
नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५-२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए। नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।
यता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पाण्डेमाथि भएको नाराबाजीको निन्दा गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता नेपालले सो घटनाको निन्दा गरेका हुन् ।
उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।’
उनले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न गम्भीर ध्यानाकर्षण गराएका छन् ।
