हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइनः योगेश भट्टराई

शनिबार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएपछि नेकपाका नेताहरूले विरोध गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्श होइन । बिमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो !’



चितवनको राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेविरुद्ध केही व्यक्तिको समूहले नाराजुलुस गरेको थियो । घटनालाई नेकपाभित्रको गुटगत विवादका रूपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको उनका सहयोगी सञ्जिव पाण्डेले बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले समेत स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको निन्दा गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले घटनाको निन्दा गरेका हुन् ।

सम्बन्धित समाचार