कोरोना महामारीको बेलासमेत सरकार भ्रष्टाचारमा लिप्त छ: कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेलासमेत सरकार रमिते बनेको बताएका छन्। आज आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जन जीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्।

‘यो सरकार स्वार्थमा डुबेको छ। भ्रष्टाचारमा लिप्त छ,’ पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो ।’ सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनको भनाइ छ।



उनले कांग्रेसले कोरोना लगायतका विषयमा प्रतिपक्षीको रूपमा कुरा उठाए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। ‘कांग्रेसले भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोले कै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको’ उनले भने।

सम्बन्धित समाचार