नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सरकारमा सहभागी हुने कुराको कल्पना गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति घातक हुने बताए ।
नवकान्तिपुर डटकमसँगको कुराकानीमा नेता केसीले प्रधानमन्त्री ओलीले आफ्ना सहकर्मी प्रचण्ड र माधव नेपाललाई तर्साउन नेपाली कांग्रेसलाई सरकारमा ल्याउने हल्ला फैलाएको आरोप पनि लगाए । ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएकोले बदनामीको भारी बोक्न कांग्रेस सरकारमा सहभागी हुन नहुने उनको तर्क थियो । नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार नलिने नेता केसीको भनाइ छ ।
नेकपामा विभाजन भएमा भने कांग्रेस जिम्मेवार प्रतिपक्षिको नाताले सरकार निर्माणमा सहयोग गर्नुपर्ने नेता केसीले बताए । यो अवस्थामा सरकार बाहिर नै रहेर पनि गुण र दोषको आधारमा उपयुक्त दललाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।
साथै नेता केसीले नेकपा नफुटोस् भन्ने आफ्नो शुभेक्षा नरहेको बताए । ‘कांग्रेस कसैको घर भत्किएर आफ्नो घर अग्लो भएको हेर्न नचाहने र आफूभित्रको कमजोरीलाई सुधारेर आफ्नो घर राम्रो बनाउन चाहने’ उनको भनाई थियो । तर नेकपाभित्रको अन्तरिक विवादले पार्टी टुटफुट भएमा राज्यलाई शून्यताको अवस्थाबाट बचाउन कांग्रेस अगाडि आउने उनले बताए ।
अर्को प्रसङ्गमा नेता केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताए । उनले आफू स्वाभाविक रूपमा महाधिवेशनको लागि सभापतिको उम्मेद्वार भएको दाबी गरे तर पनि व्यक्ति को के बन्ने भन्दा पनि संस्थालाईको व्यक्ति सभापति बन्दा राम्रो हुन्छ त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो । कांग्रेसलाई वैचारिक, जीवन्तता र पुर्नजागरण पैदा गर्नको निम्ति कोही दोस्रो नेतामा पार्टीभित्र सहमति जुटेको अवस्थामा आफू बाधक नबन्ने केसीले बताए ।
थप प्रसङ्ग भिडियोमा…