नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।

दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गाला विहीबार बिहान ११ बजे काठमाडौं आइपुग्दैछन् । विमानस्थलबाट सिधै दरबारमार्गास्थित याक एण्ड यति होटलमा जानेछ । द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक तथा परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता सोही होटलमा हुनेछ ।
संयन्त्रको बैठक, सचिव पौड्यालसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित भेटवार्ता हुने कार्यक्रम छ । उक्त भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमै हुने बताइएको छ । परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटघाटपछि श्रृङ्गाला याक एण्ड यति होटलमै फिर्ता हुनेछ ।
साँझ ५ देखि ६ बजेको बीचमा प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै वालुवाटारबाटै श्रृङ्गाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमै भेट गर्ने भनिए पनि समयबारे प्रष्ट खुलाइएको छैन । उनले शुक्रबार सोल्टीमा आयोजित एक कार्यक्रममा १२ बजे सम्बोधन गर्नेछन् । र दिउँसो १ बजे भारत फर्किने कार्यतालिका रहेको छ ।
