नागरिक अगुवाले विज्ञप्ति निकालेरै मागे प्रधानमन्त्री ओलीको राजीनामा !

काठमाडौं । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने सुझाव दिएका छन् । आठ नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकट मध्यनजर गर्दै निकास दिँदा उपयुक्त हुने सुझाएका हुन् । भ्रष्टाचारका कारण सरकारप्रति विश्वासको संकट गहिरिएको भन्दै उनीहरुले अपिल जारी गरेका हुन् ।

‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समय मै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ । अन्यथा, विद्यमान विषम् परिस्थिति अझ जटिलतातर्फ उन्मुख भै त्यसको सिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ,’ अपिलमा भनिएको छ, ‘साथै, हाल विद्यमान विषम् परिस्थितिका सम्बन्धमा सबै क्षेत्रका नागरिक समाज, बुद्धिजीवी तथा आमजनताले समेत व्यापक रुपमा विचार विमर्श गरी संवैधानिक मूल्य(मान्यताबमोजिमको निकासका लागि आ-आफ्नो क्षेत्रबाट पहल गर्नसमेत हामी अपिल गर्दछौं ।’



यसरी अपिल जारी गर्नेमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरे, पूर्वप्रहरी तथा नागरिक अभियन्ता रमेशप्रसाद खरेल, अधिवक्ता एवं महिला अधिकारकर्मी इन्दु तुलाधर, अधिवक्ता एवं नागरिक अभियन्ता ओमप्रकाश अर्याल, अधिवक्ता, नेपाल मानवअधिकार संगठनका पूर्वअध्यक्ष इन्द्रप्रसाद अर्याल र एमनेस्टी इन्टरनेसनल नेपालका पूर्वसभापति राजन कुइँकेल छन् ।

सम्बन्धित समाचार