कोरोना रोकथाम र उपचारमा खटिनेलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको बताए ।

उनका अनुसार मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ । मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएका प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।



सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ ।

सम्बन्धित समाचार