वामदेवलाई फकाउने ओलीको प्रयास जारी, अफर बोकेर निवासमै पुगे ईश्वर पोखरेल

नेकपा सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेदनको लिखित जवाफ दिने तयारी गरेकोले आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सचिवालयको पूर्वसन्ध्यामा उपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । प्रधानमन्त्री ओलीको अफर बोकेर शुक्रबार साँझ पोखरेल गौतमनिवासमा पुगेको स्रोतले बताएको छ । गौतमलाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री ओलीले रोजेको मन्त्रालय दिने यसअघि नै अफर गरेका थिए । यसपटक भने के अफर आयो बाहिर ल्याइएको छैन । साथै गौतमले क्याम्प परिवर्तन गरे या प्रचण्ड समूहमा अडिक छन् भन्ने आजको बैठकमा उनले राख्ने मन्तव्यबाट खुलाशा हुने नै छ ।



गौतमलाई आफ्नो समर्थनमा ल्याउन सके सचिवालयमा बहुमत पुग्ने भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई आफ्नो सन्देशसहित गौतम निवास पठाएको बुझिएको छ । यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा गौतमले पहिला स्वच्छाचारी प्रवृत्ति त्याग्न सुझाव दिएका थिए ।

शुक्रबार पनि ईश्वर पोखरेलमार्फत ओलीले आफूलाई सहयोगका लागि आग्रहको सन्देश पठाएको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।

सम्बन्धित समाचार