नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन्। काठमाडौंको नागार्जुन नगरपालिकाले शुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता सिंहले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका हुन्।
संसद् बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनले बताए। सरकारले जनताको समस्या सुन्नका लागि चाँडै संसद अधिवेशन बस्नुपर्ने उनले माग गरेका हुन्। ‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ उनले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ।’
जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए। उनले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरूलाई पूर्णता दिनुपर्ने पनि बताए। ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताए।
