प्रचण्डलाई ओलीको प्रश्न : बहुमतीय आधारमा महाधिवेशन गर्न तयार हुनुहुन्छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बहुमतीय आधारमा महाधिवेशन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावको जवाफ दिँदै अध्यक्ष ओलीले पेस गरेको गरेको प्रतिवेदनमा यस्तो प्रश्न गरेका हुन्। सहमतिका आधारमा एकता गरिएको र बहुमत र अल्पमतमा लाग्ने हो भने प्रचण्ड नै अप्ठ्यारोमा पर्ने प्रतिवेदनमा उल्लेख गरका छन्।

‘आज तपाईले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ। कित्ताकाट गर्न थाल्नु भएको छ’, ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साविक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’



ओलीको थप जवाफ
२०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकबाट हामी दुई अध्यक्षले गर्ने काम स्पष्ट रुपमा बाँडिएको थियो । मेरो भागमा परेको सरकार सञ्चालन सम्बन्धी सबै कामको जस-अपजसको जिम्मा मै लिन्छु । पार्टीको नीतिगत निर्देशनको आलोकमा तपाईंसँग नियमित सल्लाह गरेरै सरकार सञ्चालन गर्दै आएको पनि छु। हाम्रा बीच अझ केही कतै कमी भएका भए खुल्ला छलफल गरौं, सच्याउँ र अघि बढौं, मैले सधैं यही भन्दै आएको छु । तर के कमरेडले आफ्नो भागमा परेको कामको लेखा जोखा कहिल्यै गर्नु भएको छ ?

म आवेग र उत्तेजना बिना विनम्रताका साथ प्रश्न गर्छु– कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको काममा प्रगति कति गर्नु भयो ? पछिल्लो चोटी १५ दिन भित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो ? सचिवालय बैठकमा १० दिनभित्रका यस सम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो ? त्यसको रोडम्याप के कस्तो बन्यो ? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के के मा र कहाँ मेरो अवरोध रह्यो ?

महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न के के गृह कार्य गर्नुभयो ? र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नु भयो ? मैले कहीँ बाधा अवरोध पो पुर्याएर कि ? मलाई थाहा छ, हामी जहाँको तहीँ छौं। पार्टी सञ्चालनको जिम्मा पाए पनि तपाईं हात बाँधेरै बसिरहनु भएको छ । ममाथि कार्यविभाजनमा ‘मनपरी गरेको’ र ‘एक व्यक्ति एक पद’ को भावनालाई नमानेको पनि आरोप छ । कार्यविभाजन कमिटीले गरेको हो, मैले एक्लै गरेको होइन । गर्नु संभव पनि छैन । सहमतिबाट, प्रधानमन्त्रीका रुपमा गरिएका विषयमा पनि मलाई आरोपित गर्ने काम पूर्वाग्रहपूर्ण छ ।

एउटा कुरामा भने म स्पष्ट छु, पार्टी जिम्मेवारी र राजकीय जिम्मेवारी दुई अलग विषय हुन् । राजकीय जिम्मेवारीमा रहेका साथीहरुलाई पार्टी जिम्मेवारीबाट अलग गर्ने तर्क अहिले हामीले अवलम्बन गरेको बाटो, प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने मान्यता र पार्टीलाई जनताबाट अनुमोदित गराउनु पर्ने आवश्यकतासँग मेल नखाने तर्क हो । जनताबाट निर्वाचित प्रतिनिधिलाई पार्टी जिम्मेवारीबाट अलग गरेर जनतासँग प्रत्यक्ष सम्बन्ध नहुने संरचनाबाट अहिलेको आन्दोलनको नेतृत्व संभव हुने म देख्दिनँ । नेपाली कम्युनिष्ट आन्दोलनका सामु उत्पन्न यस नयाँ प्रश्नमा बिना कुनै सैद्धान्तिक आग्रह, खुला खुलस्त छलफल गरेर नयाँ सङ्गठनात्मक नीतिको विकास गर्न जरुरी छ भन्ने म ठान्दछु ।

सम्बन्धित समाचार