काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री, यस्तो छ उनको आजको कार्यतालिका

चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्। चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्।

विमानस्थलमा उनको आगमनको तस्बिर खिच्न सरकारी सञ्चारमाध्यमहरूलाई मात्र अनुमति दिइएको थियो। दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन्। त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्।



जंगी अड्डाको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने छन्। स्रोतका अनुसार बालुवाटारमा रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री ओलीलाई भेटेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन्।

उनी आजै साँझ स्वदेश फर्केने कार्यक्रम छ। गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेपछि फेङहे नेपाल आएका उच्च चिनियाँ अधिकारी हुन्।

सम्बन्धित समाचार