नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा यसअघि पेश भएका अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्तावमा छलफल हुनेछ । साथै आजकै बैठकमा प्रचण्ड र माधव नेपाल समूहले ओलीलाई सामूहिक लिखित जवाफ दिएर राजनीनामा माग्ने तयारी गरेको छ ।
ओली समूहले भने अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ । आफूविरूद्ध लागेको लाञ्छनामा प्रचण्डले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको प्रचण्ड-नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।
उक्त छलफलले दुई अध्यक्षका अहिलेका अलगअलग प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको स्रोतको दाबी छ ।
