नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको सचिवालय बैठक सकिएको छ। कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मंसिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुबै प्रस्तावलाई स्थायी कमिटीमा लानेबारे भने नेताहरुबीच विवाद देखिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मंसिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लानुपर्ने बताएका थिए । तर प्रचण्डले भने तत्काल साझा प्रस्ताव सम्भव नभएको भन्दै अलग अलगरुपमा लानेुपर्ने बताएको स्रोतले बतायो । दुबै प्रतावमा छलफल गरेर बहुमतले एक प्रस्ताव पारित गर्नुपर्नेमा उनको जोड थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले दुई प्रस्तावहरुमाथि औपचारिक छलफलका साथसाथै अनौपचारिक छलफल पनि अगाडि बढाउने निर्णय गरिएको छ। ‘औपचारिक छलफलका साथसाथै अनौपचारिक छलफलको क्रम अघि बढाउन उपयुक्त हुने ठानिएको छ। त्यसैले नेताहरुको बीचमा अनौपचारिक छलफल अगाडि बढाइने छ’, श्रेष्ठले बताए।
नेकपा सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा मुख्यगरी ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने अन्य सदस्यले पनि सामान्य छलफल गरेका थिए ।
