नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । बैठकको शुरुमा बोलेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डले सचिवालयमा पेश गरेको दस्तावेज पार्टीका तल्ला कमिटीमा वितरण गरेपछि पार्टी विभाजनको रेखा बसेको भन्दै उक्त दस्तावेजउपर छलफलको आवश्यकता नरहेको बताएका थिए । उनले दुबै प्रतिवेदन सचिवालयबाट फिर्ता लिने र बैठकभन्दा बाहिरबाट सहमति खोजिनु पर्ने बताएका थिए । महाधिवेशनको मिति तय भैसकेको अवस्थामा पार्टीका सबै कमिटी महाधिवेशन आयोजक कमिटीको हैसियतमा रहेको भन्दै ओलीले यस्ता कमिटीमा अल्पमत र बहुमतको कुरा नहुने बताएका थिए ।
ओलीपछि बोलेका प्रचण्डले ओलीले गरेका प्रस्तावको बुँदा बुँदामा आपत्ति जनाउँदा बैठकमा चर्काचर्की हुन पुगेको थियो । प्रचण्डले ओलीलाई बैठकबाट भाग्ने बाहना खोजेको आरोप लगाउँदै बहुमतको निर्णयको आधारमा अगाडि बढ्ने चेतावनी दिएका थिए । साथै प्रचण्डले दुबै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी र अवश्यकताको आधारमा केन्द्रीय कमिटीमा छलफल चलाएर एउटा प्रतिवेदन सम्भव भए सहमति र नभए बहुमतको आधारमा पारित हुनुपर्ने बताएका थिए । त्यसको प्रतिउत्तरमा ओलीले साँझा प्रस्ताव तयार गरेर स्थायी कमिटीमा लान सकिने बताएका थिए । तर प्रचण्डले साँझ प्रस्तावको सम्भावना नै नरहेको भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेका थिए । ‘तपाईको प्रतिवेदन पश्चिम फर्किएको छ, मेरो पूर्व । कसरी साँझ प्रस्ताव तयार हुन सक्छ ?’ प्रचण्डले प्रश्न गरेका थिए ।
ओली र प्रचण्डले एकले अर्कोलाई काउन्टर दिँदै आफ्ना प्रस्ताव राखेपछि अन्य सदस्यहरूले उनीहरूको समर्थन र विरोधमा आ–आफ्ना धारण राखेका थिए । आजको बैठकमा ओलीसमूहनिकट रहेका गृहमन्त्री रामबहादुर थापाले पनि प्रचण्डको प्रस्तावको समर्थन गरेका थिए । नौजना सचिवालय सदस्यमध्ये आज महासचिव विष्णु पौडेलले मात्र प्रधानमन्त्री ओलीको बचाउ गर्दै उनको पक्षमा धारण राखेका थिए । ईश्वर पोखरेलले पनि ओलीकै समर्थन गर्न सकेनन् । उनले सहमतिमै जारी विवाद समाधान गरिनुपर्ने बताएका थिए । बाँकी सबै सदस्यले प्रचण्डको समर्थन गरेका थिए ।
जारी विवादलाई लिएर सचिवालयमा ओली एक्लिएका छन् । गृहमन्त्री थापाले पनि आजको बैठकमा प्रचण्डको समर्थन गरेपछि ओली नैतिक दवावमा परेका छन् । उनले सकेसम्म जारी विवादलाई भदौ २६ को सहमतिमा फर्काएर पार्टीलाई महाधिवेशनमा केन्द्रित गराउन चाहेका छन् । त्यसमा प्रचण्ड–नेपाल समूह तयार नभए बैठक नै टार्ने रणनीति अवलम्बन गर्ने तयारीमा छन् । साथै, ओलीले आफ्नो राजीनामा माग्ने हो भने पार्टीको सबैले राजीनामा दिएर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण हुनुपर्ने प्रस्ताव राख्ने तयारी गरेको ओलीनिकट स्रोतले बतायो । यस्तो अवस्थामा उनले पार्टी अध्यक्षबाट राजीनामा दिने प्रस्ताव भोलिको बैठकमा राख्ने तयारी गरेको बताइन्छ ।
नेकपा सचिवालय बैठक भोलि १ बजे बालुवाटारमा बस्ने भएको छ । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी बैठक बस्नेछ भने मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बस्ने पूर्वनिर्धारित निर्णय यथावत रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
