नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली बैठकमा उपस्थित नहुने भएपछि सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्री ओलीले केही समयपछि बैठक नराख्न आग्रह गरेपछि आजका लागि तय गरिएको सचिवालय बैठक अन्यौलमा परेको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले भने प्रधानमन्त्रीको आग्रहका बाबजुद सचिवालय बैठक बस्ने बताएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
मंगलबार बैठकमा ओलीले दाहालको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीले बैठकमा नआउने बताएका थिए ।
ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए । तर प्रचण्डसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै बुधबार दिउँसो १ बजे बैठक राख्ने तयारी गरेका छन् ।
